बझाङ : बझाङमा स्थानीय तह निर्वाचनको सबै तयारी पुरा भएको छ तर यहाँका मतदाता भने उम्मेदवारप्रतिको बितृष्णा र मतदाता शिक्षाको अभावका कारण मतदान गर्न जाने वा नजाने भन्नेमा अन्यौलमा परेका देखिन्छन् । यसपटक समय अभावका कारण मतदाता शिक्षा नदिइएको र विगतमा मतदान गरेका उम्मेदवारले जीतेपछि फर्केर नहेरेको हुँदा मतदाता अन्यौलमा देखिन्छन् ।
जिल्लामा अहिले १ सय ८३ मतदान केन्द्र कायम गरिएको छ । यी मतदान केन्द्रबाट १ लाख २२ हजार १ सय ३७ मतदाताले मतदान गर्नुपर्ने हो तर केही जिल्लाबाहिर केही वृद्धवृद्धा, केही कामको चापमा रहेको र घण्टौं हिडेर मतदान गर्नुपर्ने हुँदा सबैले मतदान गर्नसक्ने सम्भावन निकै कम छ ।
यसमध्ये ८० प्रतिशतसम्म यस निर्वाचनमा मत खस्न सक्ने अनुमान छ भने त्यसमध्ये पनि धेरै मत बदर हुनसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
‘यसपटक समय छोटो भयो । निर्वाचन आयोगले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट मात्रै मतदाता शिक्षा दियो । गठबन्धनका कारण मत बदर हुन सक्छन् ।,’ जिल्ला निर्वाचन अधिकारी विमलराज गौतमले भने ।
पहिले मत कसरी हाल्ने भन्नेबारे धेरै सिकाइएको हुँदा भोट हाल्न सजिलो भएको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ की खुड्की ऐडीले बताइन् । यसपाली भोट माग्न मात्रै आउने तर कसरी कहाँ भोट हाल्ने भन्नेबारे नसिकाउने हुँदा मतदान गनए असहज हुने ऐडीको बताइन् । गठबन्धनका कारण पनि मतदातालाई भोत खसाल्न असहज हुने जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का श्यामबहादुर खातीको भनाई छ ।
बझाङका १२ वटै मतगणनास्थलमा सिसी क्यामेरा जडान
बझाङका १२ वटै मतगणना स्थलमा सिसी क्यामेरा जडान गरिएको छ । निर्वाचन आयोगले मतगणना स्थलमा सिसी क्यामेरा अनिवार्य गरेकाले जिल्लाको सबै मत गणना स्थलमा सिसी क्यामेरा जडान गरेको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमलप्रसाद गौतमले जानकारी दिए ।
जयपृथ्वी नगरपालिकाको मतगणना जिल्ला अदालतमा गरिने भएको छ भने अन्य ११ वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ ।
जिल्लामा २ नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा पालिका रहेका छन् । जसमा ९४ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १८ वटा राजनीतिक दलले भाग लिएका छन् ।
जिल्लामा निर्वाचनका लागि ४ सय ९४ पदका लागि १ हजार १९३ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा १० जना निर्विरोध भइसकेका छन् ।
अब १ हजार १ सय ८३ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा १ लाख २२ हजार १३७ मतदाता रहेका छन् ।