काठमाण्डाै - नेकपा माओवादी केन्द्रले आज सुरु हुने पार्टीको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रणा गरेको छ । यसअघि राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनिए पनि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएपछि उद्घाटन सत्रमा अरु दललाई बोलाइएको माओवादीले जनाएको छ ।
उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले फोन गरेर निमन्त्रणा गर्नुभएको छ । तर, ओलीले आफू झापामा रहेकाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नपाउने जवाफ दिनु भएको छ ।
ओलीले पार्टी महासचिव शङ्कर पोखरेललाई पठाउने बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । यसअघि चितवनमा भएको एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड सहभागी हुनु भएको थिएन । त्यसपछि नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ओली र प्रचण्डको एकै मञ्चमा भेट भएको थियो । यसैबीच, माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन दुई घण्टा पर सरेको छ । यसअघि प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे हुने भनिएकोमा ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ ।
महाधिवेशन अघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयको अनुमोदन गर्नेछ । महाधिवेशनका लागि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा स्वागतद्वार बनाइएको छ ।
सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएको छ । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । आठाैँ महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधि तथा पर्यवेक्षक काठमाण्डौ आइसकेका छन् । यो समाचार हामीले उज्यालाे अनलाईन बाट साभार गरेका हौ ।