बझाङ : केदारस्युँ गाउँपालिका वडा नं ९ झोतामा शरदकालिन् आलु रोपाईँ शुभारम्भ गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(आलु जोन)को सहयोगमा शरदकालीन् आलु रोप्न सुरु भएको हो ।
आलु जोन बनाउने उदेश्यका साथ अवस्थी अग्रीकल्चर एण्ड लाइभस्टक फर्मले ६५ रोपनी जग्गा भाडामा लिएर आलु उत्पादन गर्ने तयारी गरेको छ । सञ्चालक प्रिन्सराज अवस्थीका अनुसार उनले डडेल्धुरामा २ वटा र काठमाडौंमा एक वटा कृषि फर्म सुरु गरिसकेका छन् ।
जिल्ला कृषि ज्ञानकेन्द्र र आलु जोनको सहयोगमा ५० क्वीन्टल आलुको बिउँ, विषादी, मल र आधुनिक कृषि औजार गरि करिब ७ लाख बढीको सहयोग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताउनुभयो ।
शरदकालीन् आलु रोपाईँको आज एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको छ । ६५ रोपनी जग्गामा आलु लगाउन दुईतीन दिन लाग्ने भएको छ । बझाङलाई आलु उत्पादनको हब मानिए पनि व्यवसायिक रुपमा कसैले आलु उत्पादन नगरेको र यति धेरै मात्रामा आलु रोप्ने काम जिल्लामा पहिलो पटक भएको ज्ञान केन्द्रका प्रमुख विष्टको भनाई छ ।
कार्यक्रममा जिल्लाभित्रका प्राविधिक विद्यालयमा कृषि जेटिएको पढाई सकेका र ओजेटी गरिरहेका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । अहिले रोपेको आलु पुसको अन्तिम तिर तयार हुने प्रधानमन्त्रिी कृर्षि आधुनिकिकरण परियोजना इकाई बझाङका प्रमुख सविता जोशीले बताउनुभयो ।
बझाङमा विगतदेखि कार्तिक, मंसिरमा आलु रोप्ने प्रचलन रहेको हुँदा तुसारोले सताउने गरेकाले भदाै २० गतेदेखि असोज २० गतेसम्म रोपिसक्न पनि जिल्ला कृषि ज्ञानकेन्द्र र आलु जोन बझाङले किसानहरुलाई आग्रह गरेको छ ।