२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । ४ वर्षदेखि सम्भाव्यता अध्ययन भइरहेको यो आयोजनाको प्रारम्भिक अध्ययनको काम सकेर दोस्रो चरणको अध्ययनको काम भइरहेको छ ।
नेपाल विद्युत् प्रधिकरणले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएसँगै बझाङमा निर्माण हुने यो जलविद्युत् आयोजनाको काम अघि बढ्ने भएको हो ।
महत्वाकांक्षी आयोजनाका रूपमा अघि सारिएको यो आयोजना साइपाल गाउँपालिकाको काँडामा ड्याम बाँधेर तलकोट गाउँपालिकाको बस्तीमा निर्माण हुने भएको हो । जनताको जलविद्युत् कार्यक्रममा अन्तर्गत निर्माण गरिने आयोजनामा संघीय, प्रदेश र स्थानीय सरकार, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण नागरिकको लगानी रहने छ ।
आयोजनालाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण गरिन लागिएको हो । त्यसका लागि टेण्डर कागजपत्र तयार पार्ने, पहुँच सडक निर्माण, जग्गा अधिग्रहण लगायतका काम सुरु भइरहेको छ ।
यो आयोजनाको १३ किलोमिटर लामो सुरुङमार्ग पनि रहेको छ । आयोजना प्रमुख अनिलभक्त श्रेष्ठका अनुसार अहिलेसम्मको अध्ययनअनुसार अरु आयोजनाका तुलनामा कम लागतमा उच्च प्रतिफल दिने आयोजनाका रूपमा यसलाई हेरिएको छ ।
सुख्खा याममा समेत दैनिक कम्तिमा ६ घण्टा २१० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने आकर्षक आयोजनाका रूपमा यसलाई अगाडि बढाउन लागिएको उनको भनाइ छ । निमार्ण कार्य सुरु गरेको ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनामा बैंकको ब्याजबाहेक ३६ अर्ब ५४ करोड लागत अनुमान गरिएको छ । आयोजनाको बाँध क्षेत्रमा बस्ती नभएको र पावर हाउस बन्ने ठाँउमा पातलो बस्ती भएका कारण पनि स्थानीयको २३० रोपनी निजी जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्ने उनको भनाइ छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनीसहित स्थानीय र प्रदेश सरकारको समेत लगानी हुने गरी वित्तीय व्यवस्थापनको मोडालिटीमा छलफल भइरहेको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेर विद्युत् विकास विभागमार्फत् स्वीकृतिका लागि वन मन्त्रालयमा पठाइसकेको छ । एक डेढ वर्षअघि नै पहिलो चरणको भौगर्भिक अध्ययन सकेर अहिले दोस्रो चरणको भौगर्भिक अध्ययनको काम भइरहेको छ ।
आयोजनाको लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया सुरु भइसकेको छ । मुअब्जा निर्धारण नभएको जग्गा अधिग्रहण हुने बारेमा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी मोहराज अधिकारीले बताए ।
उनले भने, 'आयोजना बन्न लागेको क्षेत्रका बासिन्दालाई पत्र पठाएका छौँ । स्थानीय सरोकारवाला निकायलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराइसकेका छौँ । आयोजनाको बाँध क्षेत्रमा बस्ती नै छैन भने विद्युत्गृह क्षेत्रमा पनि एकदमै पातलो बस्ती छ । त्यसैले स्थानीयको थोरै मात्र जग्गा अधिग्रहण गर्दा आयोजनालाई पुग्नेछ ।'
आयोजनाको निर्माण सुरु भएसँगै हजारौँ स्थानीयले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगारी पाउने अधिकारीले बताए । आयोजनाका लागि चाहिने बाहिरी जनशक्तिको आवतजावत बढ्दा स्थानीय स्तरमा आयआर्जनका अवसरहरू सिर्जना हुने देखिएको उनको भनाइ छ ।
पश्चिम नेपालकै गौरवको आयोजना भएकाले सबै पक्ष बाट सहयोग गरी समयमै आयोजना सम्पन्न गराउनुपर्ने अधिकारी बताउँछन् । आयोजना निमार्णका लागी टेण्डर डकुमेन्टसमेत तयार भसकेको उनले बताए । ठेकेदार कम्पनीले नै विस्तृत इन्जिनयरिङ अध्ययन गरेर काम सुरु हुने भएको छ ।
प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त, १०६१ मेगावाटको माथिल्लो अरुण र २१० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू एकसाथ अगाडि बढाउन लागेको छ ।