बझाङ : सेती नदीले खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र उर्बर भूमी जोखिममा परेका छन् ।
नदीमा बाढी आएकाले भर्खरै निर्माण सम्पन्न चैनपुर-पानकोट जोड्ने मोटरेबल पानकोटमा रहेका ओम शान्ती र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् । पुल, दुबै भवनको मुनीबाट नदिले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन ।
प्रशासनले ढूङ्गा फुटाउने डोजर लगाएर नदीको बहाब बीचमा लगाउन मेसिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।
प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले नदीमा बाढीले खतराको सतह पार गरेको सूचना आएको बताए । ‘तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छौं,’ उनले भने ।
उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ । यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न प्रशासनले आग्रह गरेको छ ।
जयपृथ्वी राजमार्ग अझै खुलेन
निरन्तर बर्षातका कारण ठाउँ-ठाउँमा अवरुद्ध जयपृथ्वी राजमार्ग अझैं खुल्न सकेको छैन । बुधबार रातिदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग नखुल्दा लामो तथा छोटो दुरीका सवारी साधन अलपत्र परेका छन् । हालसम्म जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका -७ कचाली खोला, माल्नालाग्ने भीर, छबिसपाथिभेराको बालुवाटार लगायतका ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
विघुत पनि अवरुद्ध
वर्षातका कारण बझाङमा राष्ट्रिय प्रसारण लाइनको विघुत पनि अवरुद्ध भएको छ । विभिन्न ठाउँमा सडक छेउका पोलमा ढुङ्गा लागेर विघुत आपुर्ती बन्द भएको नेपाल विघुत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ ।