काठमाडौंका मुख्य सडकमा हुने सवारी चाप कम गर्न प्रयोगमा आएका सडक करिडोर नै जथाभावी पार्किङले अस्तव्यस्त बन्न थालेका छन्। उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला र मनोहरा करिडोरसँगै १० वटा खोलाकिनारको सडकमा स्थानीयले जथाभावी पार्किङ गरिँदा सडक जाम बढ्न थालेको हो।
सहरी विकास मन्त्रालय र अधिकारसम्पन्न बागमती सभ्यता आयोजनाअन्तर्गत निर्माण भएका र निर्माणाधीन करिडोरमा पार्किङको व्यवस्थापन नहुँदा सडकको दायाँबायाँ लस्करै सवारीसाधन पार्किङ गरिँदै आएको छ। सवारी जाम व्यवस्थापनका लागि विकल्प बनेका करिडोरमै १० देखि १५ मिनेटसम्म जाम हुन थालेको छ।
बागमती करिडोरबाहेक धोबीखोला, विष्णुमती र मनोहरासँगै अन्य सहायक खोला गरी १० वटा खोलाकिनारमा करिडोर सञ्चालनमा आइसकेका छन्। अधिकारसम्पन्न बागमती सभ्यता आयोजना, काठमाडौं उपत्यका विकास समितिअन्तर्गत निर्माण भइरहेका करिडोरमा लगभग ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। निर्माण भएका सडकखण्डमा सवारी सञ्चालनमा आइसकेका छन्।
सडक नै जाम हुने गरी पार्किङ गर्ने सवारीधनीलाई कारबाही गर्दै आए पनि अव्यवस्थित पार्किङ गर्ने प्रवृत्ति घट्न सकेको छैन। महाशाखामा एउटै सवारीधनी एक सय ४१ पटक ट्राफिक कारबाहीमा परेको तथ्यांक छ। जनशक्तिको अभावमा सबै स्थानमा एकैचोटि ट्राफिक परिचालन गर्न सकिँदैन, बढी भिडभाड भएका स्थानमा हामीले कारबाही गरिरहेका छौँ।
हाल ३८ किलोमिटर लामो बागमती करिडोरअन्तर्गत सुन्दरीजलदेखि चोभारसम्मको सडकखण्ड १० किलोमिटर र बागमतीको तल्लो क्षेत्रमा सिनामंगलदेखि थापाथलीछेउमा रहेको सुकुम्बासी बस्ती नहटाइएकाले करिब ३.५ किमि अझै बाँकी रहेकाले १३.५ किलोमिटर सडक मात्र निर्माणाधीन छ। योबाहेकको सडकमा ढल र अन्य निर्माण कार्य सम्पन्न भएर प्रयोगमा आइसकेको छ।
खोलाको बहाव क्षेत्र निर्धारण गरेर तटबन्ध लगाउने र ढल व्यवस्थापन गरी खोलाको दुवैतर्फ निर्माण भएका सडकखण्डले उपत्यकाको ट्राफिक जामलाई पूर्ण रूपमा व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको थियो। अझै बल्खु खोला, नख्खु, कर्मनाशा, हनुमन्तेजस्ता खोलाकिनारका करिडोर निर्माणाधीन अवस्थामा छन्। खोलाकिनार व्यवस्थित हुन थालेपछि निजी कार्यालय, होटेल, रेस्टुराँ, फुटसल, व्यावसायिक मल खुलेसँगै करिडोर भिडभाड देखिन थालेको हो।
मुख्य सडकको घन्टौँसम्म हुने जाम हट्यो
करिडोर र शाखा सडक सञ्चालनमा आएपछि उपत्यकामा घन्टौँसम्म हुने जाम हटेको छ। मुख्य चोकहरूमा निश्चित समय निर्धारण गरेर राखिएका ट्राफिक लाइटले गर्दा लामो समय जाममा बस्नुपर्ने भन्झट हटेको हो। तर, ‘सब वे’का रूपमा सञ्चालनमा आएका सडकहरू व्यवस्थित नहुँदा जामले अस्तव्यस्त बन्न थालेका छन्। शाखा सडकबाट यात्रा गर्दा समय कम लाग्ने, जाम नहुने र भिडभाड नहुने हुँदा सुरक्षित हुने भनिए पनि जथाभावी पार्किङ, सडक क्षमताभन्दा ठूला सवारी चलाउने प्रवृत्तिले करिडोरसँगै शाखा सडकमा पनि जाम हुन थालेको छ। काठमाडौं उपत्यकामा हाल लगभग १३ लाख सवारी गुड्छन्। बर्सेनि अत्यधिक सवारी आयात हुने र सडक व्यवस्थित नहुँदा सडकमा जाम व्यवस्थित गर्न नसकिएको ट्राफिक प्रहरीको भनाइ छ।
अव्यवस्थित पार्किङबाट दैनिक तीनदेखि पाँच लाख जरिवाना
महानगरीय ट्राफिक महाशाखाका अनुसार अव्यवस्थित पार्किङबाट दैनिक तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना संकलन गरिँदै आएको छ। उपत्यकामा मात्रै दैनिक पाँच सयभन्दा बढी सवारी अव्यवस्थित पार्किङ गरिएको भन्दै ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ। यसबाहेक महानगरभित्र सडकखण्डमा रहेका अव्यवस्थित पार्किङ नगर प्रहरीले समेत व्यवस्थापन गरिरहेको छ।