कुलमष्टजन मावि मष्टा ४ भातेखोलाले प्रमाण पत्रबाट चरम शुल्क असुलेको भन्दै सामाजिक सञ्जालमा भएको आलोचनालाई कुनै गल्ती नभएको सर्वपक्षिय भेला मार्फत स्पष्ट पारेको छ । विद्यालयका प्रधानाध्यापक मोहनबहादुर थापाले सामाजिक सञ्जालमा विद्यार्थीको चारित्रिक प्रमाणपत्रमा चरम शुल्क लिएको भन्दै सामाजिक सञ्जालमा फैलाएको अफवाहबारे बिहीबार सर्वपक्षिय भेला मार्फत स्पष्टिकरण दिनुभएको हो ।
दुई वर्ष अगाडि अभिभावक भेलाबाट निर्णय भइ लागु भएको शुल्कलाई लिएर मष्टाका केही व्यक्तिहरुले विद्यालयको गरिमा घटाउने र मर्यादित व्यक्तित्वको सार्वजनिक प्रतिष्ठामा आँच आउने तरिकाले सामाजिक सञ्जालमा पोष्ट गरेको भेलाले निष्कर्ष निकालेको छ । विद्यालयले यदि गल्ती नै गरेको भए पनि अभिवावकको भेलाबाट निर्णय गर्ने तथा हेरफेर गर्ने व्यवस्था हुँदाहुँदै पनि व्यक्तिगत दुस्मनी साँध्ने उदेश्यका साथ विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र लेखापाललाई अमर्यादित र निच शब्द प्रयोग गरि सामाजिक सञ्जाल मार्फत बेइज्जत गरेको भन्दै विद्यालय प्रशासन, नेपाल शिक्षक महासंघ मष्टा गाउँ कार्यसमितिले पनि विज्ञप्ति निकालेका छन् ।
मष्टा गाउँपालिकाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, कुलमष्टजन माविका विद्यालय व्यवस्थापन समिति पदाधिकारी, विद्यालयका प्रधानाध्यापक शिक्षक र अभिभावकसहितको भेलाले सामाजिक सञ्जालमा तथ्यहिन, मिथ्या, भ्रमात्मक कुराहरु पोष्ट गरि फैलाइ विद्यालयको र मर्यादित व्यक्तित्वको सार्वजनिक प्रतिष्ठामा आँच पुर्याएको निस्कर्ष निकालेको हो । सामाजिक सञ्जालमा तथ्यहिन, मिथ्या, भ्रमात्मक कुराहरु पोष्ट गर्नेहरु नेविसंघ मष्टा गाउँ कार्यसमिति सभापति नरेश द्वाल र भारतमा रहेर कुप्रचार गर्ने नवराज बोहराले पनि गल्ती स्वीकार गर्नुभएको छ ।
जिल्लामा उत्कृष्ट शिक्षा र पर्याप्त भौतिक संरचना भएको कुलमष्टजन मावि धेरै पटक नमुना विद्यालयको सूचीमा पनि परेको प्रधानाध्यापक मोहनबहादुर थापाले बताउनुभयो । जिल्लाकै अग्रणी शैक्षिक धरोहर मानिएको कुलमष्टजन माद्यामिक विद्यालयलाई केहीले बेइज्जत गर्न खोजेको भन्दै मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा र उपाध्यक्ष हर्क धामीले खेद प्रकट गर्नुभएको छ । अभिभावकसहितको भेलाले निर्णयले स्वीकृत गरेपछि तोकिएको शुल्कबाट प्राविधिक धारका विद्यार्थी निशुल्क किताब, लाइब्रेरी निर्माण, प्रयोगशाला निर्माण र छात्रवृति जस्ता विद्यालय हितका कार्यहरु गरिदै आएको विद्यालयले जनाएको छ । भेलाले फेरि पनि यस शुल्क लिने प्रक्रियालाई निरन्तरता दिने हिजोको भेलामा निर्णय भएको छ ।
विद्यालयको हितका लागि विद्यार्थीले चारित्रिक प्रमाणपत्र लिदा पहिलेकै शुल्क लिन विद्यालयलाई बिहीबारको भेलाले सुझाव दिएको हो । विद्यालयको निरन्तर स्तर वृद्धिका लागि अहोरात्र खटिरहने प्रधानाध्यापक मोहनबहादुर थापालाई थप लागिरहन र यस्ता तत्वबाट विचलित नहुन पनि भेलाले सुझाएको छ ।