काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन संघीय सरकारले शक्ति प्रयोग गरेको बताएका छन् ।
सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि पौडेलको छ । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।
गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्विच अफ गरी गायब भएका थिए । नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आर्दशमाथि प्रहार गरेको आरोप लगाए । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलको भनाइ छ । उनले भने, ‘किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने,सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उदाउने काम भयो । खिमविक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल,किर्ते जालसाजी खेल,अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ ।’
नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए । स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलको भनाइ छ । ‘यहाँ त सीडीओ पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद् नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौं आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसद्मा पर्दाफास भएको छ ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ‘आईसीयू’मा भर्ना भएका थिए । मंगलबारसम्म सकुशल रहेका शाही म विभाजन हुनुअघि अस्पतालको आईसीयूमा भेटिनु शंकास्पद देखिएको छ । राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै शाहीलाई चरक अस्पतालको आईसीयूमा राखिएको छ ।
राष्ट्रिय जनमोर्चाले पनि सांसद शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।