काठमाडौं : पार्टी विभाजनको डिलमै पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अचानक संवादमा जुटेको कुराले बुधबारदेखि देश तरंगित छ । नेतृत्वको झगडाले आहत बनिरहेका पार्टी कार्यकर्ताले ‘आइस ब्रेक’ का कामना गरेका छन् । बुधबार करिब दुई घण्टा भलाकुसारी गरेका ओली र नेपाल दुवैले वार्ताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएनन् । तर, ‘प्रफुल्ल मुद्रामा कुराकानी भएको’ भन्ने प्रधानमन्त्रीका सल्लाहकारहरुको प्रतिक्रियाले कार्यकर्ताहरु पनि प्रफुल्ल बने ।
आज वार्ताकै बीचमा सार्वजनिक भएको तस्बिर पनि आशा जगाउने खालकै थियो । दुवै नेताहरु रिल्याक्स्ड मुडमा मेरियट होटेलको झ्यालबाट काठमाडौंको क्षितिज नियालिरहेका थिए । वार्ता तनावरहित र सुरुचीपूर्ण रहेको सन्देश तस्वीरले दिन्थ्यो । कतिपयले चाहिँ मुल कुरा मिलिसकेर नेताहरु धरहरा हेर्दै व्यक्तिगत-पारिवारिक कुराकानी गरिरहेकोसम्म अनुमान लगाए ।
तर, वार्ता सकिएपछि नेपालले दिएको प्रतिक्रियाले सबै आशामा तुषारापात भएको छ । कार्यकर्तालाई पनि निराशाले छोपेको छ। संवादातालाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले भने– ‘हिजो थोरै आशावादी थिएँ, आज तिक्ततापूर्ण कुरा भयो । भन्न मिल्ने गरी कुनै पनि प्रगति छैन ।’ नेता नेपालको प्रतिक्रियाबाट खिच्न सकिने सार हो– दुई दिनको वार्ताबाट ठोस परिणाम निस्केन ।
स्रोतका अनुसार आजको वार्तामा दुवै नेताले आआफ्नै अडानलाई दोहो¥याएका छन् । नेपालले भोलि हुन लागेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक रोक्न, २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन र २०७७ चैत २८ गते र त्यसयताका सबै निर्णय खारेज गर्न ओली समक्ष सर्त राखेका थिए ।
ओलीले पनि यसअघिका चट्टाने अडान दोहोर्याउँदै आफूलाई कुनै पनि सर्त मन्जुर नभएको, गुटलाई एमालेमा ‘स्पेस’ नभएको र गल्ती महसुस गरेर आए पार्टीमा ठाउँ दिन सकिने जवाफ दिए । यही विन्दूबाट कुरा अगाडि बढ्नै सकेन । तिक्ततामा गुलियोपन बढेन । अहिले एमाले पार्टी राजनीतिक जीवनको संगीन मोडमा उभिएको छ ।